सन्दर्भ जनगणना
जनसंख्या
सरकारले खटाएका
प्रत्येक ठाउँमा पुगें
प्रत्येक सहर,
प्रत्येक गाउँमा पुगें
र
अंकहरु बटुलें !
आधा थिए वृद्धहरुका शरीर
तर पूरै लेखिदिएँ !
नाङगा थिए बालबालिकाहरूका हर
तर सिङगै लेखिदिएँ !
अपांगहरुका
आँखा हेरिन, कान खोजिन
खुट्टा र हात कता राखेका छौ
केही पनि सोधिन, सग्लै लेखिदिएँ !
आधा मरेका बलात्कृतहरु
गोडा मुनि परेका शोषित उत्पीडितहरु
समाजको ऐनामा कैलै नदेखिएका अनुहारहरु
देशको नक्शामा कैलै नभेटिएका पदचापहरु
सबलाई खोजें, भेट्टाएँ
र
योगफल निकालें !!
मेरो देशले जनसंख्या पायो
मैले मेडल पाएँ, प्रमाणपत्र पाएँ
लेखिएको थियो-
उत्कृष्ट कार्यसम्पादन तथा
मूल्यांकनको आधारमा प्रदान गरिएको..!
सम्मानको बोझले थिचिएर हो
वा
कुनै विस्मृत दुर्घटनाले किचिएर
पाइलाहरु गह्रौं भइरहे बाटोभरी !
घर आएर घोत्लिइरहें
कहाँ बिग्रियो हिसाब ?
किन आयो जनशंख्या कम ?
मधुरो आवाजमा जहान बोलिन
ए हजुर,
ती फालेका चार छोरीहरुलाई
जोड्न छुटाउनुभयो कि .....?!
0 Comments